नेपाली बालअधिकारको २५ वर्षे यात्रा समेट्ने पुस्तक सार्वजनिक

१४ पौष २०७२ - नेपालमा बाल अधिकार आन्दोलनका क्षेत्रमा भएका हालसम्मका उपलब्धिहरूलाई अभिलेख गर्ने गरी ‘नेपालमा बालअधिकार’ नामको पुस्तक प्रकाशित भएको छ । 
आज काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा उपप्रधानमन्त्री एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले उक्त पुस्तक विमोचन गर्नुभयो । 
बालअधिकारका क्षेत्रमा विगत दुई दशकभन्दा बढी समयदेखि सक्रिय संस्था सिविसले पुस्तक प्रकाशन गरेको हो ।
cp mainali book launch child rights in nepalकार्यक्रमममा बोल्दै मन्त्री मैनालीले राज्यका विभिन्न निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले एकजुट भएर बालअधिकारका लागि काम गर्नुपर्ने बताउनुभयो । साथै बाल अधिकारका क्षेत्रमा विद्यमान चुनौतीहरूलाई चिर्दै थप अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । 
“कानुन बन्नु महत्वपुर्ण कुरा हो, तर त्यसभन्दा बढी महत्वपूर्ण कुरा यसको कार्यान्वयन हो, ” उहाँले बताउनुभयो । 
गत बैशाखमा मुलुकले खेपेको महाभूकम्पको सबभन्दा बढी मारमा बालबालिका नै परेको र गत असोजमा संविधान जारी भइसकेपछि तराई मधेस लगायत देशका विभिन्न भागमा भएका आन्दोलनबाट बालबालिकाको आधारभूत अधिकार हनन भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै संसद्को महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जू झाले शिक्षा दिने नाममा तथा अन्य विभिन्न प्रलोभनमा पारेर बालबालिकाहरूलाई परिवारबाट छुटाई बन्धक बनाउने काम भइरहेको उल्लेख गर्र्र्दै यस्ता क्रियाकलाप नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो । 
नयाँ संविधानमा बालअधिकारकाका लागि उत्कृष्ट व्यवस्थाहरू भएको चर्चा गर्दै उहाँले ती व्यवस्था कार्यान्वयन गर्नका लागि राज्यले बालमैत्री कानुन यथासक्य छिटो बनाउनुपर्ने बताउनुभयो । 
“संविधानले सबै अधिकार दिएको छ,” उहाँले थप्नुभयो, “अब आवश्यक कानुन बनाएर बालअधिकारका क्षेत्रमा नेपाललाई विश्वमा नमुनाका रूपमा स्थापित गरौँ ।”
बालअधिकारकर्मीहरू गौरी प्रधान, कृष्ण सुवेदी, विजय सैंजू, कुमार भट्टराई, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल र प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पनि नेपालमा बालअधिकारका क्षेत्रमा भएका उपलब्धि र चुनौतीहरूबारे चर्चा गर्नुभयो ।  
आज विमोचन भएको ‘नेपालमा बालअधिकार’ पुस्तकमा ४५ जना अभियन्ता, अधिकारकर्मी तथा सरोकारवालाहरूले विगत २५ वर्षमा नेपालमा बालअधिकारका क्षेत्रमा भएका प्रगति, भोगेका चुनौती, तथा अब चालिनुपर्ने कदमहरूबारे चर्चा गरेका छन् । 
विगत साढे एक वर्षमा बालअधिकारका क्षेत्रमा भएका विभिन्न क्रियाकलापहरूको अध्ययन गरी पुस्तक तयार गरिएको पुस्तक सम्पादक ज्योतिलाल वनले बताउनुभयो । 
विमोचन कार्यक्रमका वक्ताहरूले पुस्तकले नेपाली बालअधिकार आन्दोलनका महत्वपूर्ण घटना क्रम र मुद्दाहरू समेटेको हुनाले बालअधिकार इतिहासमा यसको विशिष्ट महत्व रहने कुरा उल्लेख गरे ।